विपद् प्रभावित क्षेत्रमा मनोसामाजिक सचेतना अभियान

- जलजलामा तीनदिने अभियान सुरु

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


पर्वत, २२ असोज । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा पर्वतको जलजला गाउँपालिका–८, फर्सेस्थित श्री शिव माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी मनोसामाजिक सुस्वास्थ्य तथा प्राथमिक मनोवैज्ञानिक सहयोगसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नाराका साथ खुसी मन बागलुङको आयोजना तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा सुरु भएको तीनदिने अभियानअन्तर्गत पहिलो दिन बाढी तथा विपद् प्रभावित क्षेत्रका शिक्षक र विद्यार्थीलाई छुट्टाछुट्टै सत्रमा प्रशिक्षण दिइएको हो।

बाढी तथा प्राकृतिक विपत्तिका कारण बालबालिका र शिक्षकमा परेको डर, त्रास तथा मानसिक असर न्यूनीकरण गर्दै पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले फर्से क्षेत्रलाई अभियानको पहिलो दिन प्राथमिकतामा राखिएको आयोजकले जनाएको छ।

कार्यक्रममा खुसी मन बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्य र सचिव योगराज कँडेलले शिक्षकहरूलाई शिक्षणका क्रममा हुने तनाव व्यवस्थापन, मानसिक रूपमा स्वस्थ रहने उपाय तथा आपत्कालीन अवस्थामा विद्यार्थीलाई दिन सकिने प्राथमिक मनोवैज्ञानिक सहयोग (पीएफए) का विषयमा सहजीकरण गर्नुभएको थियो।

त्यस्तै, विद्यार्थीका लागि खुसी मन बागलुङका कार्यसमिति सदस्य उमा चालिसे र सदस्य शारदा शर्मा आचार्यले टोलीकार्य, कथा वाचन तथा संवादमार्फत डर र तनाव व्यवस्थापन गर्ने तथा सकारात्मक सोच विकास गर्ने उपायबारे सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा बागलुङ नगरपालिकाका कार्यपालिका सदस्य तथा खुसी मन बागलुङकी सदस्य ज्योति केसी विष्टले स्थानीय तहले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यस्ता कार्यक्रमका लागि स्थानीय तहले खुसी मन बागलुङजस्ता संस्थासँग समन्वय र सहकार्य गर्नुपर्ने उहाँको भनाइ थियो।

लायन्स अन्तर्राष्ट्रिय ३२५ के नेपालकी डिस्ट्रिक्ट पीआरओ लायन सावित्री केसी र लायन्स क्लब अफ बागलुङ सिटीजनकी अध्यक्ष लायन प्रिया किसानले प्राकृतिक विपत्तिको असर भौतिक संरचनामा मात्र नभई मानिसको मन र मस्तिष्कमा समेत गहिरो पर्ने भन्दै कार्यक्रम समयसापेक्ष र प्रभावकारी रहेको बताउनुभयो।

विद्यालयका प्रधानाध्यापक अमृतप्रसाद सापकोटाले विपद् प्रभावित विद्यार्थीको अवस्थालाई बुझेर विद्यालयमै आएर कार्यक्रम सञ्चालन गरेकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो। मानसिक रूपमा स्वस्थ विद्यार्थीबाट मात्रै गुणस्तरीय शैक्षिक उपलब्धि हासिल गर्न सकिने उहाँले बताउनुभयो।

कार्यक्रममा सहभागी शिक्षक शिव गौतम र रेजिना मल्लले तालिमले आफू स्वस्थ रहँदै विद्यार्थीमा देखिने तनाव पहिचान गर्न र तत्काल सहयोग पुर्‍याउन महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिनुभयो।

तीनदिने अभियानअन्तर्गत असोज २३ गते धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थी तथा युवालाई लक्षित गरी तनाव व्यवस्थापन तथा डिजिटल कुलतसम्बन्धी सचेतना कार्यशाला आयोजना गरिनेछ। कार्यशालामा परीक्षा तथा भविष्यको चिन्ता र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट हुने असर न्यूनीकरणका विषयमा अभ्यास गराइने आयोजकले जनाएको छ।

त्यस्तै, असोज २४ गते बागलुङका क्रियाशील पत्रकारका लागि आत्महत्यासम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ तथा सञ्चारकर्मीको मानसिक स्वास्थ्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक तालिम सञ्चालन गरी अभियानको समापन गरिनेछ।