
बागलुङ । नेपाली लोक तथा दोहोरीगीतको संरक्षण, प्रवर्द्धन र विकासमा सक्रिय गायक तथा संगीतकार रामकृष्ण बम मल्लले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आगामी केन्द्रीय महाधिवेशनमा उपाध्यक्ष (खुलातर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
बागलुङलाई स्थायी घरका रूपमा चिनाउँदै हाल जापानमा रहेका मल्लले प्रवासमा रहेर पनि नेपाली मौलिक कला, संस्कृति र लोकसंगीतको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
प्रतिष्ठानको नेतृत्वमा रहेर कलाकारको हकहित, सम्मान तथा नेपाली लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा थप योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको मल्लले बताएका छन्।
नयाँ पुस्तालाई मौलिक लोकसंगीततर्फ आकर्षित गर्दै नेपाली लोकसंस्कृतिको संरक्षण र कलाकारको सम्मानलाई प्राथमिकतामा राख्ने उनको प्रतिबद्धता छ।
मल्लको उम्मेदवारीसँगै प्रवासमा रहेका नेपाली कलाकार तथा बागलुङवासीहरूमा उत्साह देखिएको छ। उनको उम्मेदवारीलाई समर्थन गर्दै सामाजिक सञ्जालमा शुभेच्छा तथा समर्थनका सन्देशसमेत सार्वजनिक हुन थालेका छन्।
बागलुङदेखि जापानसम्म नेपाली लोकसंगीतमा सक्रिय मल्लको उम्मेदवारीले प्रतिष्ठानको आगामी नेतृत्व चयनमा प्रवासी कलाकारको प्रतिनिधित्वलाई समेत थप चर्चामा ल्याएको छ।










