९ वर्षीया तेरिया परियारको उपचारका लागि सहयोगको अपिल

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


कलेजोमा समस्या र फोक्सोमा पानी जम्ने रोगबाट पीडित बालिकाको उपचारका लागि परिवार आर्थिक संकटमा

हिड्न खबर डटकम

बागलुङ, असोज २२ । पर्वतको जलजला गाउँपालिका–२ पाखाथर, मल्लाजकी ९ वर्षीया तेरिया परियार गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेकी छन्। कलेजोमा समस्या देखिनुका साथै फोक्सोमा पानी जम्ने रोगबाट पीडित तेरियाको विगत एक वर्षदेखि काठमाडौंस्थित बालकान्ति अस्पतालमा नियमित उपचार भइरहेको छ।

कक्षा ४ मा अध्ययनरत तेरिया लामो समयदेखि अस्पतालमा उपचाररत रहेकी छन्। परिवारका अनुसार उपचारका क्रममा भएको सम्पत्ति समेत खर्च भइसकेको छ भने थप उपचार र आवश्यक शल्यक्रियाका लागि ठूलो रकम जुटाउनुपर्ने अवस्था आएको छ।

आर्थिक अवस्था कमजोर भएकाले छोरीको उपचार खर्च जुटाउन कठिन भएको भन्दै परिवारले देश तथा विदेशमा रहेका नेपाली, विभिन्न संघ–संस्था, समाजसेवी तथा सहयोगी मनहरूसँग सहयोगको अपिल गरेको छ। बिरामी तेरिया पछिल्लो ६ महिनादेखि विद्यालय जानसमेत नसकेको परिवारले जनाएको छ।

तेरियाकी आमा रिता परियार (सोमती दर्जी) र बुबा खिम परियारले छोरीको जीवन रक्षाका लागि सक्दो सहयोग गरिदिन आग्रह गरेका छन्। सहयोगका लागि रिता परियार (रिता दमाई) को नाममा रहेको मुक्तिनाथ विकास बैंकको खातासम्बन्धी क्यूआर कोडसमेत सार्वजनिक गरिएको परिवारले जनाएको छ।
सहयोगका लागि सम्पर्क:
📞 रिता परियार (आमा) : ९८०५२१९९४९
📞 खिम परियार (बुबा) : ९७०६९२४७१८