बर्थिङ सेन्टरका नर्सिङ कर्मचारीलाई मातृ तथा नवशिशु स्वास्थ्यसम्बन्धी क्षमता अभिवृद्धि तालिम

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


मातृ तथा नवशिशु स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि कार्ययोजना समेत तयार

बागलुङ, असोज २२ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।

असोज २१ र २२ गते सञ्चालन गरिएको कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत २५ जना नर्सिङ कर्मचारीको सहभागिता रहेको थियो। कार्यक्रममा मातृ तथा नवशिशु स्वास्थ्यको वर्तमान अवस्था, चुनौती तथा सेवा सुधारका उपायबारे अभिमुखीकरण गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

तालिममा एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC), Indirect Maternal Health Screening, Birth Preparedness and Readiness Placard, ANC–PNC Continuum of Care, प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (PPH), Non-Pneumatic Anti-Shock Garment (NASG), Labour Care Guide, PRTP तथा PAFP/PPFP सम्बन्धी विषयमा सहजीकरण गरिएको थियो।

कार्यक्रमको व्यवस्थापन जनस्वास्थ्य अधिकृत समिता घिमिरेले गर्नुभएको थियो। सहजीकरण डा. विजय ओझा, अ.न.नि. प्रियंका विक, जनस्वास्थ्य अधिकृत समिता घिमिरे तथा नारायण रिजालले गर्नुभएको थियो।

कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटाले गर्नुभएको थियो भने स्वागत तथा शुभकामना मन्तव्य जनस्वास्थ्य अधिकृत टिकाराम भण्डारीले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा सहभागी तथा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रतिनिधिहरूले मातृ तथा नवशिशु स्वास्थ्य सेवामा सुधार गर्नुपर्ने क्षेत्रहरूको पहिचान गरी सेवा प्रभावकारी बनाउन कार्ययोजना समेत निर्माण गरेका छन्।