
बागलुङ, असोज २२ । बागलुङ नगरपालिका–१४, नारायणस्थानमा खानेपानीको गुणस्तर परीक्षण तथा समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
खानेपानी आयोजनाको नमुना २०८३ असोज १९ गते संकलन गरिएको थियो भने असोज २० गते खानेपानीको गुणस्तर परीक्षण गरिएको थियो। असोज २१ गते समुदायस्तरीय अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।
अभिमुखीकरण कार्यक्रममा पानीजन्य रोग, सुरक्षित पानीको प्रयोग तथा पानी शुद्धीकरणका लागि क्लोरिनेसन विधिका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रमको अध्यक्षता बागलुङ नगरपालिका–१४ का वडा अध्यक्ष चक्रबहादुर खड्काले गर्नुभएको थियो भने सञ्चालन नारायणस्थान स्वास्थ्य चौकीका वरिष्ठ जनस्वास्थ्य निरीक्षक ऋषिराम शर्माले गर्नुभएको थियो।
कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका ल्याब टेक्निसियन निरीक्षक डिल्लीप्रसाद आचार्यले खानेपानीको गुणस्तर, पानीको सुरक्षा तथा परीक्षणको नतिजाका विषयमा सहजीकरण गर्नुभएको थियो। नगर अस्पताल, पैयुँपाटाका डा. सफल सापकोटाले प्रदूषित पानीबाट लाग्ने विभिन्न रोग तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा सहभागी नारायणस्थान खानेपानी आयोजनाका अध्यक्ष नारायण श्रेष्ठले खानेपानीको गुणस्तर सुधारका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्वास्थ्यकर्मी, खानेपानी आयोजनाका अध्यक्ष तथा प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।










