केन्द्रीय सदस्यमा पूर्ण परियारको उम्मेदवारी, अनुभव र सक्रियताको आधारमा मत माग्दै

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


हिड्न खबर डटकम

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ८औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (भूगोल गण्डकी) पदका लागि गायक, सर्जक, उद्घोषक तथा निर्माता पूर्ण परियारले उम्मेदवारी घोषणा गरेका छन्।

लोक तथा दोहोरी गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय परियार कलाकारितासँगै संस्थागत नेतृत्वमा समेत निरन्तर क्रियाशील रहँदै आएका छन्।

उनले प्रतिष्ठान बागलुङमा एक कार्यकाल सचिव र एक कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेका छन्। साथै, प्रतिष्ठान धौलागिरीको महासचिव तथा प्रतिष्ठान गण्डकीको संस्थापक सचिव र वरिष्ठ उपाध्यक्षको भूमिका पनि सम्हालिसकेका छन्।

गायन, सिर्जना, उद्घोषण तथा सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा समेत सक्रिय परियारलाई लोकदोहोरी क्षेत्रका कलाकारहरूले अनुभवी, मिलनसार र जिम्मेवार व्यक्तित्वका रूपमा लिने गरेका छन्।

परियारले प्रतिष्ठानलाई थप प्रभावकारी, पारदर्शी र कलाकारमैत्री बनाउने उद्देश्यसहित आफ्नो अनुभव, क्षमता र सिर्जनशीलतालाई संस्थाको हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोही उद्देश्यका साथ उनले केन्द्रीय सदस्य (भूगोल गण्डकी) पदमा उम्मेदवारी दिएका हुन्।

लोकदोहोरी क्षेत्रको विकास, कलाकारको हकहित संरक्षण तथा प्रतिष्ठानको संस्थागत सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने नेतृत्वका रूपमा आफूलाई प्रस्तुत गर्दै परियारले महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूलाई आफ्नो पक्षमा मत दिन आग्रह गरेका छन्।

उनको उम्मेदवारीलाई लोकदोहोरी क्षेत्रभित्र ‘अनुभव, क्षमता र सक्रियताको सम्मान’का रूपमा हेरिएको छ। आगामी दिनमा प्रतिष्ठानलाई थप व्यवस्थित, गतिशील र कलाकारमैत्री बनाउन उनको अनुभव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।