
अनुभव, सक्रियता र संस्थागत विकासको एजेन्डासहित मैदानमा
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ केन्द्रीय महाधिवेशन–२०८३ नजिकिँदै गर्दा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैक्रममा चर्चित गायक, सर्जक तथा रेकर्डिस्ट तारानाथ आचार्यले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लोक तथा दोहोरी संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय आचार्य प्रतिष्ठानको गण्डकी प्रदेश सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका अनुभवी व्यक्तित्व हुन्। उनले गीत–संगीतको सिर्जना, गायन तथा संस्थागत गतिविधिमा निरन्तर योगदान दिँदै आएका छन्।
प्रतिष्ठानको सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउने, कलाकारहरूको हकहित संरक्षण गर्ने तथा लोकदोहोरी क्षेत्रको संस्थागत विकासलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आफू सचिव पदमा उम्मेदवार बनेको आचार्यले बताएका छन्।
आगामी असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा हुने ९औँ केन्द्रीय महाधिवेशनमा सचिव पदका लागि प्रतिस्पर्धामा रहेका आचार्य यतिबेला प्रतिनिधिहरूसँग मत माग्दै चुनावी अभियानमा सक्रिय छन्।
लोक तथा दोहोरीगीत क्षेत्रका कलाकार, सर्जक र संगीतकर्मीमाझ आफ्नो छुट्टै पहिचान बनाएका आचार्यले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई अमूल्य मत प्रदान गरी विजयी गराउन हार्दिक अपिल गरेका छन्।
उनको उम्मेदवारीलाई लोकदोहोरी क्षेत्रको सिर्जनात्मक अनुभव, संगठनप्रतिको प्रतिबद्धता र प्रतिष्ठानभित्रको संस्थागत यात्रालाई नेतृत्व तहमा निरन्तरता दिने प्रयासका रूपमा हेरिएको छ।









