रसुवा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

-


     हिडन खबर    
     असाेज २२ गते २०८३ मा प्रकाशित


नुवाकोट, असोज २२ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत रसुवा बाढीबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

लायन्स क्लब अफ काठमाडौं वन्डर उमनको सक्रियतामा विदुर नगरपालिका–४, बट्टार घण्टाघरस्थित शहरी स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा काठमाडौं मोडल अस्पतालका विशेषज्ञ चिकित्सकहरूले सेवा प्रदान गरेका थिए। शिविरमा विशेषगरी स्त्रीरोग, मानसिक स्वास्थ्य तथा जनरल फिजिसियनसम्बन्धी स्वास्थ्य परीक्षण र परामर्श सेवा उपलब्ध गराइएको थियो।

शिविरबाट ६६ जना महिला र २३ जना पुरुष गरी कुल ८९ जनाले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ।

निरन्तर वर्षाका बाबजुद पनि प्रभावित समुदायसम्म स्वास्थ्य सेवा पुर्‍याउन सफल भएको भन्दै कार्यक्रमको अध्यक्षता गरेकी लायन्स क्लब अफ काठमाडौं वन्डर उमनकी अध्यक्ष सङ्गीता थापालगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको सक्रिय योगदानको प्रशंसा गरिएको छ।

आयोजकका अनुसार विपद्पछि स्वास्थ्य सेवामा पहुँच अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गरिएको हो। लायन्सको “जहाँ आवश्यकता, त्यहाँ सेवा” भन्ने भावनाअनुरूप समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताइएको छ।