
बागलुङ, असोज २१
जिल्ला प्रशासन कार्यालय बागलुङले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। नागरिकका गुनासा, सुझाव तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विषयमा जानकारी लिन आयोजित कार्यक्रममा स्थानीयवासीले राष्ट्रिय परिचयपत्र वितरण, बजार व्यवस्थापन, सडक, विद्युत्, शिक्षा, स्वास्थ्य तथा यातायातलगायतका विषयमा ध्यानाकर्षण गराएका छन्।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकहरूले राष्ट्रिय परिचयपत्र वितरणमा भइरहेको ढिलाइका कारण विशेषगरी ज्येष्ठ नागरिकहरू समस्यामा परेको गुनासो गरेका थिए। साथै, बजार व्यवस्थापन प्रभावकारी बनाउन, ग्यासको मूल्यवृद्धि नियन्त्रण गर्न तथा नियमित बजार अनुगमन गर्नुपर्ने मागसमेत राखिएको थियो।
स्थानीयवासीहरूले विद्यालय आसपासमा मदिरा तथा सुर्तीजन्य पदार्थको खुला बिक्री भइरहेको भन्दै यसको नियन्त्रणमा कडाइ गर्न आग्रह गरेका थिए। पछिल्लो समय बढ्दो लागुऔषध दुव्र्यसन, विद्युत् आपूर्तिमा देखिएको अवरोध तथा सार्वजनिक संरचनाको संरक्षणका विषयमा पनि चासो व्यक्त गरिएको थियो।
कार्यक्रममा बोल्ने अधिकांश स्थानीयले नारायणस्थान क्षेत्रमा सडकको अवस्था सुधार गर्न, रिङरोड निर्माण अघि बढाउन तथा सार्वजनिक यातायातको भाडादर समायोजन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। बलेवा विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने, सडक सञ्जालको अभावका कारण दाहसंस्कारसमेत गर्न कठिनाइ हुने अवस्था अन्त्य गर्नुपर्ने मागसमेत उनीहरूले राखेका थिए।
स्थानीयले पोके व्यवसायीका कारण साना व्यवसायी प्रभावित भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। विकास योजनाको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने सुझावसमेत कार्यक्रममा आएको थियो।
नागरिकका जिज्ञासा र गुनासाको जवाफ दिँदै वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले जनताका समस्या समाधानलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। उनले सामुदायिक कुकुर व्यवस्थापनका लागि नगरपालिकासँग समन्वय भइरहेको जानकारी दिँदै घरपालुवा कुकुर दर्ता अभियानसमेत सुरु गरिएको बताए।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले नागरिकमैत्री सेवा प्रवाहलाई प्रशासनको मुख्य प्राथमिकतामा राखिएको उल्लेख गरे। राष्ट्रिय परिचयपत्र वितरणमा देखिएको समस्या समाधानका लागि गृह मन्त्रालयसँग समन्वय गरी प्राविधिक टोली परिचालन गरिने उनले जानकारी दिए।
यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख गोविन्दप्रसाद पौडेलले सवारी भाडादर समायोजनको प्रक्रिया अगाडि बढिरहेको बताए। भूमि प्रशासन कार्यालयका प्रमुख सुरेश ढकालले भूमिसम्बन्धी समस्या समाधानका लागि कार्यालय तयार रहेको बताए।
बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन केसीले विकास योजनालाई समयमै सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। नेपाल विद्युत् प्राधिकरण बागलुङका प्रमुख दिलीप मरासिनीले विपद्का कारण विद्युत् आपूर्तिमा समस्या देखिएको उल्लेख गर्दै वितरण प्रणालीलाई थप व्यवस्थित बनाइने बताए।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्रप्रसाईले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नागरिकको भूमिका महत्वपूर्ण हुने भन्दै सचेतनामूलक कार्यक्रम सञ्चालनमा प्रहरी सहकार्य गर्न तयार रहेको बताए।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष चक्रबहादुर खत्रीले स्वागत मन्तव्य राखेका थिए भने नायब सुब्बा तेजराज गौतमले कार्यक्रम सञ्चालन गरेका थिए।
सार्वजनिक सुनुवाइमार्फत नागरिक र सरकारी निकायबीच प्रत्यक्ष संवाद भएको तथा स्थानीय समस्या समाधानका उपायबारे खुला छलफल गरिएको आयोजकले जनाएको छ।









