मौलिक लोकदोहोरीका गायक कुमार पुन सह–कोषाध्यक्ष पदमा चुनावी मैदानमा

-


     हिडन खबर    
     असाेज २१ गते २०८३ मा प्रकाशित


बागलुङ ।असाेज २१

मौलिक लोकदोहोरी गीत–संगीतका चर्चित गायक कुमार पुनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

म्याग्दीका स्थायी बासिन्दा पुन लामो समयदेखि लोकदोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय रहँदै आएका कलाकार हुन्। विशेषगरी मौलिक लोकदोहोरी गीतको संरक्षण, प्रवर्द्धन तथा कलाकारको पहिचान स्थापित गर्ने अभियानमा उनको महत्वपूर्ण योगदान रहँदै आएको छ।

कलाकारिता यात्रासँगै प्रतिष्ठानको संस्थागत विकास र कलाकारहरूको हकहितका लागि थप प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यले आफूले सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको पुनले बताएका छन्। उनले प्रतिष्ठानलाई अझ व्यवस्थित, पारदर्शी र कलाकारमैत्री संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन आगामी असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा हुँदैछ।

मौलिक लोकदोहोरी क्षेत्रमा निरन्तर क्रियाशील रहेका पुनको उम्मेदवारीले प्रतिष्ठानको नेतृत्व तहमा मौलिक गीत–संगीतको प्रतिनिधित्व अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।