
बागलुङ, असोज २१
बागलुङको निसीखोला गाउँपालिका-१ स्थित सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा सात थान अवैध भरुवा बन्दुक बरामद भएको छ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा असोज २१ गते बिहान करिब ९:०० बजे सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीभित्र बेवारिसे अवस्थामा राखिएका १ नाले भरुवा बन्दुक ७ थान फेला पारेको हो।
प्रहरीका अनुसार झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका ती भरुवा बन्दुकहरू नियन्त्रणमा लिई बरामदको आवश्यक कानुनी प्रक्रिया पुरा गरिएको छ।
उक्त बन्दुकहरू कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक याम नारायण अर्यालले जानकारी दिनुभयो।









