कांग्रेस केन्द्रीय कार्यसमितिमा बागलुङका २० नेताको उम्मेदवारी

-


     हिडन खबर    
     असाेज २१ गते २०८३ मा प्रकाशित


सह–महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न क्लस्टरमा प्रतिस्पर्धा, जिल्लामा चुनावी चासो बढ्यो

बागलुङ, असोज २१

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत
बागलुङका २० जना नेताले विभिन्न पद तथा क्लस्टरबाट केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गराएका छन्। बागलुङबाट एकैपटक यति ठूलो संख्यामा नेताहरूले केन्द्रीय नेतृत्वका लागि उम्मेदवारी दिएको यो पहिलो पटक भएको बताइएको छ।

मंगलबार सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा डिल्लीराम सुवेदीले खुलातर्फ सह–महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। केन्द्रीय सदस्य पदका लागि खस–आर्य खुलातर्फ जगदीशचन्द्र उपाध्याय, खस–आर्य महिलातर्फ चम्पादेवी खड्का तथा खुलातर्फ टेकराज पौडेल चुनावी मैदानमा उत्रिएका छन्।

त्यस्तै, जनजाति खुलातर्फ भीमबहादुर श्रीस र द्रोणकुमार कुँवर, जनजाति महिलातर्फ रेणुका काउचा तथा सहिद परिवारतर्फ मञ्जेशबम मल्लले उम्मेदवारी दिएका छन्। खुला युवातर्फ सुजन सापकोटा र उषा सापकोटा तथा दलिततर्फ सागर परियार प्रतिस्पर्धामा छन्।

गण्डकी प्रदेश भूगोलतर्फ खुलामा विष्णु पौडेल ‘दारी’ र युवातर्फ पवन आचार्यले उम्मेदवारी दिएका छन्। अल्पसंख्यकतर्फ अर्जुन शेरचन, खुला महिलातर्फ गण्डकी थापा अधिकारी तथा दलित महिलातर्फ दिलमाया रामदाम पौवीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी, एसिया–प्यासिफिक क्लस्टरतर्फ डण्डपाणि कँडेल ‘डीपी’ तथा युरोप क्लस्टरतर्फ शालिक गौतम र पूर्णबहादुर हमालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

बागलुङबाट ठूलो संख्यामा नेताहरू केन्द्रीय नेतृत्वको प्रतिस्पर्धामा उत्रिएसँगै जिल्लामा चुनावी माहोल तातेको छ। उम्मेदवारहरूको राजनीतिक प्रभाव, संगठनभित्रको सक्रियता तथा महाधिवेशन प्रतिनिधिहरूको मतका आधारमा निर्वाचन परिणाम तय हुने भएकाले कांग्रेस वृत्तमा परिणामप्रति विशेष चासो देखिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट समावेशीतर्फका विभिन्न समूहसहित ८० क्लस्टरमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।

तस्बिर पीपुल्सखबरबाट