
काठमाडौं, असोज २१ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको २५औँ महाधिवेशन नजिकिँदै जाँदा खुला तर्फको सह–कोषाध्यक्ष पदकी उम्मेदवार सम्झना भण्डारीको उम्मेदवारी चर्चामा आएको छ।
लोक तथा दोहोरी गायन क्षेत्रमा सक्रिय भण्डारीले प्रतिष्ठानको संस्थागत सुदृढीकरण, कलाकारको हकहित संरक्षण तथा लोकसंगीतको प्रवर्द्धनमा योगदान पुर्याउने लक्ष्यसहित सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएकी छन्।
प्रतिष्ठानको २५औँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म महोत्तरीको बर्दिबासमा हुँदैछ।
महाधिवेशनअन्तर्गत खुला तर्फको सह–कोषाध्यक्ष पदका लागि भण्डारीले उम्मेदवारी दर्ता गराएकी हुन्।
भण्डारीले कलाकारका आवाजलाई संस्थागत रूपमा थप प्रभावकारी बनाउने, प्रतिष्ठानको आर्थिक व्यवस्थापनलाई पारदर्शी र व्यवस्थित बनाउने तथा नयाँ पुस्ताका कलाकारलाई अवसर र प्रोत्साहन उपलब्ध गराउने आफ्नो प्राथमिकता रहेको बताएकी छन्।
लोक तथा दोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएकी भण्डारीले प्रतिष्ठानको विकास र कलाकारको अधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आएकाले उनको उम्मेदवारीलाई विभिन्न कलाकार तथा शुभेच्छुकहरूले सकारात्मक रूपमा लिएको जनाइएको छ।









