
बागलुङ, असोज २१ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा जिल्लाका स्वास्थ्यकर्मीहरूका लागि सञ्चालन गरिएको दुईदिने ‘क्षयरोगसम्बन्धी पुनर्ताजगी तालिम’ सम्पन्न भएको छ।

असोज १९ र २० गते आयोजित तालिममा जिल्लाका १० वटै स्थानीय तहबाट २० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो। समुदायमा लुकेर रहेका क्षयरोगका बिरामीलाई समयमै पहिचान गरी उपचारको दायरामा ल्याउने तथा क्षयरोगबाट हुने मृत्युदर न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जनस्वास्थ्य प्रशासक प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत टीकाराम भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन देवप्रकाश घिमिरेले गर्नुभएको थियो।

तालिममा वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरे, बागलुङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनाल तथा धौलागिरि अस्पतालकी ल्याब टेक्निसियन सुजाता थापाले सहजीकरण गर्नुभएको थियो।

तालिम समापनपछि सहभागी स्वास्थ्यकर्मीहरूले समुदायमा लुकेका क्षयरोगका बिरामीको समयमै खोजी, प्रभावकारी उपचार व्यवस्थापन तथा गुणस्तरीय रेकर्डिङ र रिपोर्टिङमा तालिम उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।

जनस्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारले सञ्चालन गरिरहेको ‘क्षयरोगमुक्त नेपाल’ अभियानलाई सफल बनाउन यस्ता क्षमता अभिवृद्धिमूलक तालिमले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।










