विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा खुसी मन बागलुङको तीनदिने विशेष कार्यक्रम

-


     हिड्न खबर संवाददाता     
     असाेज २० गते २०८३ मा प्रकाशित


बागलुङ, असोज २० । विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा ‘वास्तविक अनुभवको आवाज सुनौँ, वास्तविक परिवर्तन ल्याऔँ’ भन्ने मूल नारासहित खुसी मन बागलुङले तीनदिने विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

खुसी मन बागलुङको आयोजनामा तथा नेपाल प्रेस युनियन बागलुङको संयोजनमा असोज २१ देखि २३ गते (अक्टोबर ७ देखि ९) सम्म सञ्चालन हुने कार्यक्रम बाढी तथा विपद् प्रभावित क्षेत्र, शैक्षिक संस्था र सञ्चार क्षेत्रलाई लक्षित गरी आयोजना गर्न लागिएको हो।

संस्थाका अध्यक्ष नारायणप्रसाद आचार्यका अनुसार विपद्पछिको मनोसामाजिक सहयोग, युवामा बढ्दो तनाव तथा डिजिटल कुलत नियन्त्रण, आत्महत्या रोकथाम र जिम्मेवार मिडिया रिपोर्टिङजस्ता विषयमा समुदायलाई सचेत र सक्षम बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।

पहिलो दिन : विपद् प्रभावित विद्यालयमा मनोसामाजिक कार्यक्रम
अभियानको पहिलो दिन असोज २२ गते जलजला गाउँपालिकास्थित फोर्सेमा रहेको श्री शिव माध्यमिक विद्यालयमा ‘मनोवैज्ञानिक प्राथमिक उपचार (PFA) तथा मनोसामाजिक सुस्वास्थ्य सचेतना कार्यक्रम’ सञ्चालन गरिनेछ। बाढी तथा विपद्का कारण बालबालिका र शिक्षकमा परेको मानसिक असर, डर र त्रासलाई कम गर्दै पुनःस्थापनामा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

दोस्रो दिन : विद्यार्थीलाई तनाव व्यवस्थापन र डिजिटल कुलतबारे प्रशिक्षण
असोज २३ गते धौलागिरी बहुमुखी क्याम्पसका विद्यार्थी तथा युवालाई लक्षित गरी ‘तनाव व्यवस्थापन तथा डिजिटल कुलत सचेतना कार्यशाला’ आयोजना गरिनेछ। कार्यशालामा परीक्षा तथा भविष्यप्रतिको चिन्ता व्यवस्थापन, मोबाइल र सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट हुने असर तथा ‘डिजिटल डिटक्स’ र ‘डिजिटल वेलबिइङ’ सम्बन्धी व्यवहारिक अभ्यास गराइने जनाइएको छ।

तेस्रो दिन : पत्रकारका लागि जिम्मेवार रिपोर्टिङसम्बन्धी तालिम
विश्व मानसिक स्वास्थ्य दिवसका दिन असोज २४ गते बागलुङका क्रियाशील पत्रकारहरूका लागि ‘आत्महत्या तथा आत्महानिसम्बन्धी जिम्मेवार मिडिया रिपोर्टिङ र पत्रकारका लागि PFA’ विषयक अन्तरक्रियात्मक तालिम सञ्चालन गरिनेछ। कार्यक्रममा आत्महत्यासम्बन्धी समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने संवेदनशीलता तथा पत्रकारको मानसिक स्वास्थ्य व्यवस्थापनका विषयमा छलफल गरिनेछ। सोही अवसरमा तीनदिने अभियानको औपचारिक समापनसमेत गरिने कार्यक्रम छ।

खुसी मन बागलुङले मानसिक स्वास्थ्यका क्षेत्रमा निरन्तर सचेतना, परामर्श तथा तालिममूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। संस्थाले अभियानमा विद्यार्थी, शिक्षक, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।