बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री तथा मनोसामाजिक सहयोग प्रदान

-


     हिड्न खबर     
     असाेज २० गते २०८३ मा प्रकाशित


पर्वत, असोज २० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत धौलागिरि एरियाका लायन्स क्लबहरूले बाढी प्रभावित विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी शैक्षिक सामग्री वितरण र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेका छन्।

पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा मंगलबार आयोजित कार्यक्रममा बाढीबाट प्रभावित विद्यार्थी र शिक्षकहरूलाई आवश्यक स्टेशनरी सामग्री वितरण गर्नुका साथै मनोसामाजिक परामर्श (साइको–एजुकेशन) प्रदान गरिएको हो।

‘Leading with Purpose’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा धौलागिरि एरियाका लायन्स क्लबहरूको संयुक्त पहलमा रु. १ लाख ५३ हजार १११ बराबरको सहयोग हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममार्फत प्राकृतिक विपद्बाट प्रभावित विद्यार्थीहरूको शैक्षिक गतिविधिलाई निरन्तरता दिन तथा उनीहरूको मनोबल उच्च राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ। बाढीका कारण अध्ययनमा परेको असर न्यूनीकरण गर्दै विद्यार्थीलाई पुनः विद्यालयमुखी बनाउन कार्यक्रम केन्द्रित रहेको बताइएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूले विपद्, शिक्षा, स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सामाजिक अभियान सञ्चालन गर्दै आएका छन्। धौलागिरि क्षेत्रका लायन्सकर्मीहरूले बाढी प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।