
बागलुङ, असोज २० । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई बागलुङ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार सम्मानित बागलुङ जिल्ला अदालतको २०७९ असोज ३ गतेको फैसलाले ४ महिना कैद सजाय तोकेका सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१० निवासी २१ वर्षीय रवि साउद रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरी टोलीले असोज २० गते पक्राउ गरेको जनाएको छ।
प्रहरीले पक्राउ परेका साउदलाई फैसला कार्यान्वयनका लागि बागलुङ जिल्ला अदालतमा पेश गरेको थियो। अदालतको आदेशअनुसार उनलाई कारागार कार्यालय बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
प्रहरीले अदालतका फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।










