बाढीपीडितलाई लायन्सको न्यानो साथ, ५० परिवारलाई ब्ल्याङ्केट वितरण

-


     हिडन खबर    
     असाेज २० गते २०८३ मा प्रकाशित


नुवाकोट, असोज २० । प्राकृतिक विपत्तिका बेला पीडितको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्सकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेका छन्।

जहाँ समस्या, त्यहाँ लायन्स, जहाँ पीडा, त्यहाँ सेवा’ भन्ने भावनाका साथ नुवाकोटको बेत्रावती, सोले र भैसे क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढीपीडित परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो।

सेवामूलक अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकका सन्तोष सराफले ब्ल्याङ्केट सहयोग उपलब्ध गराउनुभएको थियो।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लिडर रोजिता वस्तिका अनुसार भैसे क्षेत्रमा २५ जना तथा बटार क्षेत्रमा २५ जना गरी कुल ५० जना बाढीपीडितलाई ब्ल्याङ्केट वितरण गरिएको छ।

विपद्को कठिन समयमा पीडित समुदायलाई राहत र हौसला प्रदान गर्ने उद्देश्यले गरिएको यस्तो मानवीय सहयोगले सामाजिक सेवाप्रति लायन्सको प्रतिबद्धता पुनः पुष्टि गरेको स्थानीयवासीले बताएका छन्।