
बागलुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जैमिनी नगरपालिकाको नगर अधिवेशनबाट राजेन्द्र शर्मा सर्वसम्मत रूपमा नगर सभापतिमा चयन भएका छन्।
जैमिनी नगरपालिकामा सम्पन्न अधिवेशनले शर्माको नेतृत्वमा नयाँ नगर समिति चयन गरेको हो। नेतृत्व चयन सर्वसम्मत रूपमा टुंगिएको पार्टीले जनाएको छ।
अधिवेशनमा सहभागी नेता, कार्यकर्ता तथा प्रतिनिधिहरूले संगठनलाई वडा र टोल तहसम्म विस्तार गर्दै थप सुदृढ बनाउने, स्थानीय नागरिकका समस्या तथा सरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउनेलगायत विषयमा छलफल गरेका थिए।
नगर सभापतिमा चयन भएपछि शर्माले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, सक्रियता र जवाफदेहितासहित निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जैमिनी नगरपालिकाका नागरिकसँग निरन्तर संवाद र सहकार्य गर्दै स्थानीय तहका समस्या तथा आवश्यकतालाई सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने बताए।
सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलगायतका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै शर्माले पार्टीभित्रको एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउने धारणा राखे।
अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै रास्वपा जैमिनी नगर समितिले आगामी दिनमा संगठन विस्तार तथा सुदृढीकरणलाई प्राथमिकता दिने जनाएको छ। वडा तहमा संगठनलाई सक्रिय बनाउँदै नागरिकसँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने र जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने लक्ष्य लिइएको पार्टीले जनाएको छ।









