
काठमाडौं असाेज २०
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा लोक तथा दोहोरी गायिका टिका सानुले केन्द्रीय महिला सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
करिब १५ वर्षदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय सानुले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा कलाकारको हकहित संरक्षण, लोक तथा दोहोरी संगीतको प्रवर्द्धन तथा प्रतिष्ठानलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यले दिएको बताएकी छन्।
सानुले प्रतिष्ठानका संस्थापक, पूर्व तथा वर्तमान पदाधिकारी, केन्द्रीय तथा प्रदेश समितिका सदस्य, जिल्ला समितिका पदाधिकारी, आजीवन सदस्य तथा महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मतदान गरी मूल्याङ्कन गरिदिन आग्रह गरेकी छन्।
“यहाँहरूको एक मत मेरो लागि ठूलो हौसला हुनेछ,” भन्दै उनले कलाकारको हकहित र संस्थागत विकासका पक्षमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
साथै आगामी दिनमा पनि सम्पूर्ण प्रतिनिधि तथा कलाकारबाट साथ, सुझाव र विश्वास प्राप्त हुने अपेक्षा रहेको उनले बताएकी छन्।










