
बागलुङ, असोज १९
बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा सडक स्तरोन्नतिको काम गर्ने क्रममा माटोको ढिस्को खस्दा दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार बिहान करिब ७ः२० बजे त्रिवेणीखोलादेखि बोहरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।
घटनामा सल्यान जिल्लाका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर जिल्लाको फत्तार गाउँपालिका–४ निवासी ३२ वर्षीय राजु थापामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, रोल्पाको त्रिवेणी गाउँपालिका–५ का ३१ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।










