खनियाघाट झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालन बन्द, पैदल आवागमन यथावत्

- मालढुङ्गा मोटरेबल पुल बन्द भएपछि बढेको चापका कारण मर्मतका लागि दुई पाङ्ग्रे सवारीसाधनमा रोक

-


     सुजन आचार्य     
     असाेज १९ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १९

पर्वत र बागलुङ जोड्ने खनियाघाटस्थित कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा साेमबार बिहानदेखि मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।

मालढुङ्गास्थित मोटरेबल पुल क्षतिग्रस्त भई बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाट झोलुङ्गे पुलमा सवारीसाधनको चाप अस्वाभाविक रूपमा बढेपछि पुलको सुरक्षा तथा मर्मतसम्भारलाई ध्यानमा राख्दै दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

केही समययता मालढुङ्गा मोटरेबल पुल बन्द रहेकाले पर्वत–बागलुङ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। यसक्रममा खनियाघाटको झोलुङ्गे पुलमा दैनिक रूपमा मोटरसाइकलको चाप बढ्दै गएको थियो।

सम्बन्धित निकायका अनुसार पुलको संरचनात्मक अवस्था, क्षमता तथा बढ्दो भारलाई मध्यनजर गर्दै आवश्यक मर्मत तथा व्यवस्थापन कार्य गर्न दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन अस्थायी रूपमा रोकिएको हो।

यद्यपि पैदल यात्रुका लागि भने पुल खुला राखिएको छ। स्थानीय बासिन्दा, विद्यार्थी, कर्मचारी, व्यवसायी तथा अन्य यात्रुले पूर्ववत् रूपमा पुल प्रयोग गर्न सक्ने जनाइएको छ।

मर्मत कार्य सम्पन्न नभएसम्म मोटरसाइकल तथा अन्य दुई पाङ्ग्रे सवारीसाधनलाई पुल प्रयोग नगर्न आग्रह गरिएको छ। चालक तथा यात्रुलाई वैकल्पिक मार्ग अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ।

खनियाघाट पुलमा समेत सवारी सञ्चालन बन्द भएपछि पर्वत–बागलुङ आवागमन थप प्रभावित बनेको छ। विशेषगरी दैनिक कामकाज, अध्ययन, व्यापार तथा सेवा क्षेत्रमा आवतजावत गर्ने स्थानीय सर्वसाधारणले बढी सास्ती खेप्नुपर्ने अवस्था सिर्जना भएको छ।

स्थानीयले पुलको मर्मत कार्य शीघ्र सम्पन्न गरी सुरक्षित रूपमा दुई पाङ्ग्रे सवारी सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्। प्राविधिक परीक्षणपछि पुल सुरक्षित रहेको निष्कर्ष आएपछि मात्र सवारी सञ्चालनबारे पुनः निर्णय गरिने जनाइएको छ।