बाढीपीडित परिवारलाई लायन्स क्लबद्वारा घरायसी सामग्री सहयोग

-


     हिडन खबर    
     असाेज १९ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज १९
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरू यतिबेला रसुवा तथा भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको घाउमा मलम लगाउने अभियानमा सक्रिय रूपमा जुटेका छन्।

गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण आफन्तजन गुमाएका तथा घरबारविहीन बनेका चार जना बाढीपीडित परिवारलाई आवश्यक घरायसी सामग्री हस्तान्तरण गरिएको छ। पीडितहरू हाल आफन्तको घरमा आश्रय लिएर बस्दै आएको र अब भाडाको कोठामा बस्ने तयारी गरिरहेको अवस्थामा उनीहरूसँग दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीसमेत नभएको जानकारी प्राप्त भएपछि सहयोग अभियान सञ्चालन गरिएको हो।

लायन्स क्लब अफ काठमाडौं रानीवनका अध्यक्षमार्फत पीडितहरूको अवस्थाबारे जानकारी पाएपछि लायन्स क्लब अफ काठमाडौं न्यू श्री माछापोखरीका पास्ट प्रेसिडेन्ट लायन हेमलतासँग समन्वय गरी यूके निवासी दीपक सुब्बाले पठाएको सहयोग रकम पीडितसम्म पुर्‍याइएको लायन्स लिडर रोजिता वस्तीले जानकारी दिइन्।

पीडित परिवारलाई खाट, डसना, तन्ना, सिरानी, ब्ल्याङ्केट तथा किचन र्‍याकलगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्री उपलब्ध गराइएको बताइएको छ। प्राप्त सहयोग रकमसँगै थप सहयोग जुटाएर सामग्री वितरण गरिएको वस्तीले बताइन्।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसनकुमार गोपाली, क्याबिनेट सेक्रेटरी लायन गणेश जीसी, ट्रेजरर लायन चुडामणि शिलवाल, मिशन १.५ चिफ लायन महाप्रसाद पाण्डे तथा लायन वासुगिरीको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सहभागीहरूले परिवारका सदस्य गुमाउनुको पीडा कुनै सहयोगले कम गर्न नसके पनि दुःखको घडीमा आवश्यक आधारभूत सामग्री उपलब्ध गराएर नयाँ जीवन सुरु गर्न सहयोग पुर्‍याउने प्रयास गरिएको बताए।

सहयोग अभियानमा आर्थिक सहयोग प्रदान गर्ने यूके निवासी दीपक सुब्बा, सहयोग समन्वय गर्ने पास्ट प्रेसिडेन्ट लायन हेमलता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण लायन्स सदस्यप्रति कार्यक्रममा आभार व्यक्त गरिएको थियो।