
काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ को पहिलो तीन महिनामै विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै उत्कृष्ट प्रदर्शन गर्ने डिस्ट्रिक्टको रूपमा आफूलाई स्थापित गरेको छ।
डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले सार्वजनिक गर्नुभएको धन्यवाद तथा आभार सन्देशअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा नयाँ क्लब चार्टर तथा नेट ग्रोथमा डिस्ट्रिक्ट ३२५ के नेपालले विश्वमै पहिलो स्थान हासिल गर्न सफल भएको हो। उक्त उपलब्धिलाई नेपाली लायन्स इतिहासकै गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
Lions Clubs International MD 325 के नेपालका गभर्नर अधिकारीले यो सफलता कुनै एक व्यक्तिको प्रयासबाट सम्भव नभएको उल्लेख गर्दै सम्पूर्ण क्लब अध्यक्ष, पदाधिकारी, सदस्य तथा लायन्स परिवारको सामूहिक समर्पण, सहयोग र सक्रिय सहभागिताको परिणाम भएको बताउनुभएको छ।
उहाँले ‘Leading with Purpose’ अभियानअन्तर्गत सेवा, नेतृत्व विकास र सदस्यता विस्तारलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा समेत विश्वस्तरमा अग्रता कायम राख्ने लक्ष्य रहेको बताउनुभयो।
अक्टोबर महिनालाई सदस्यता वृद्धि अभियानको महिनाका रूपमा मनाइँदै गर्दा सबै क्लबलाई नयाँ सदस्य थप्न, सेवा परियोजना विस्तार गर्न तथा समुदायमा लायन्सको प्रभाव बढाउन आग्रह गरिएको छ।
डिस्ट्रिक्ट ३२५ के नेपालले पहिलो त्रैमासिकमा हासिल गरेको यो उपलब्धिले नेपालका लायन्स क्लबहरूको क्षमता, नेतृत्व र सेवाप्रतिको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष थप उजागर गरेको विश्वास व्यक्त गरिएको छ।












