
पर्वत, असोज १८ — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्वत प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को क्षेत्रीय अधिवेशनबाट परविन गुरुङ दोस्रो कार्यकालका लागि क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ।
शनिबार सम्पन्न मतगणनाअनुसार गुरुङले ४३४ मत प्राप्त गरी सभापतिमा विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी हरि न्यौपानेले ३०२ मत प्राप्त गर्नुभएको थियो।
यसअघि पनि क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिसक्नुभएका गुरुङ पर्वतको विहादी गाउँपालिकाका अध्यक्षसमेत हुनुहुन्छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित गुरुङ नेपाली कांग्रेसको दक्षिण पर्वत क्षेत्रका प्रभावशाली नेताका रूपमा परिचित हुनुहुन्छ।
यस्तै, उपसभापतिमा किरण श्रेष्ठ ३७० र पिताम्बर भुसाल ३३१ मतसहित निर्वाचित हुनुभएको छ।
सचिव पदमा रामप्रसाद भुर्तेल ४२३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी हेमप्रसाद अधिकारीले १४७ मत प्राप्त गर्नुभएको थियो।
सह–सचिव पदमा भीमबहादुर क्षेत्री ४०४ र रिता थापा
राना ३१४ मतसहित निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।









