पहिरोपीडित परिवारलाई लायन्स क्लब अफ निसीखोलाद्वारा राहत सहयोग

-


     हिड्न खबर संवाददाता     
     असाेज १७ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १७
‘जहाँ दुःख, त्यहाँ लायन्स क्लब अफ निसीखोला’ भन्ने नारासहित लायन्स क्लब अफ निसीखोलाले विपद्पीडित परिवारलाई राहत सहयोग कार्यक्रमलाई निरन्तरता दिएको छ।

असोज ११ गते निसीखोला गाउँपालिका–३ धाराखर्कमा गएको विनाशकारी पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको घटनापछि पीडित परिवारलाई नगद तथा खाद्यान्न सहयोग प्रदान गरिएको हो।

किरिया बसाइँ सम्पन्न भएको सातौं दिन वडा नं. ३ का वडाध्यक्ष रमेश विक्रम शाहीको उपस्थितिमा लायन्स क्लब अफ निसीखोलाले पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।

राहतस्वरूप दक्षिण कोरियामा रहेका सहयोगी साथीहरूबाट संकलित २० हजार रुपैयाँ तथा लायन्स क्लब अफ निसीखोलाको तर्फबाट थप सहयोग गरी कुल ५० हजार रुपैयाँ नगद उपलब्ध गराइएको छ। साथै करिब २० हजार रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको क्लबले जनाएको छ।

यसरी नगद र जिन्सी गरी कुल ७० हजार रुपैयाँ बराबरको राहत सामग्री पीडित परिवारलाई प्रदान गरिएको हो। दुःखद घटनापछि शोकमा रहेको परिवारको घाउमा थोरै भए पनि मल्हम लगाउने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ।

लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीले दक्षिण कोरियामा रहेका सहयोगी नेपालीहरूले क्लबप्रति विश्वास र भरोसा व्यक्त गर्दै राहत अभियानमा साथ दिएकोमा आभार व्यक्त गरे। उनले मानवीय सेवाको भावनाले जोडिएका सबै सहयोगदाताप्रति हार्दिक कृतज्ञता तथा सम्मान प्रकट गरेका छन्।