
रसुवा, असोज १७ — भोटेकोशी बाढीबाट प्रभावित व्यवसायी, उद्यमी तथा स्थानीय पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ।

महासंघले बाढीबाट प्रभावित ५० घरपरिवारलाई किचन र्याक हस्तान्तरण गरेको जनाएको छ। महासंघकी उपमहासचिव रोजिता वस्तीका अनुसार विपद्का कारण दैनिक जीवन प्रभावित बनेका परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरूको टोली सहभागी भएको थियो। कार्यक्रममा कोषाध्यक्ष कालीमान खत्री, उपमहासचिव रोजिता वस्ती, उपत्यका विशेष अध्यक्ष तीर्थ महर्जन, बागमती प्रदेश अध्यक्ष रविन्द्र वैद्यवार, मधेश प्रदेश अध्यक्ष राम कैलाश साह, काभ्रे जिल्ला अध्यक्ष प्रेम तामाङ तथा जिल्ला उपाध्यक्ष गोपाल तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उपमहासचिव वस्तीले दुःख र विपत्तिको समयमा एकअर्काको साथमा उभिनु मानवीय दायित्व भएको बताइन्। उनले महासंघ व्यवसायीहरूको हकहितका लागि मात्र नभई आवश्यकताको समयमा व्यवसायी तथा स्थानीय समुदायको सुखदुःखमा समेत साथमा रहने प्रतिबद्धता व्यक्त गरिन्।

महासंघले बाढीपीडित परिवारको राहत, पुनर्स्थापना तथा जीविकोपार्जन पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।













फोटो क्याप्सन : भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई किचन र्याक हस्तान्तरण गर्दै नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका पदाधिकारीहरू।









