
काठमाडौं, असोज १७ — नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघले रसुवा, नुवाकोटलगायत जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५२ लाख ४८ हजार ४४५ रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ।
महासंघले भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा उद्योग व्यवसायलाई सहयोग गर्ने उद्देश्यले विभिन्न शीर्षकमा उक्त रकम उपलब्ध गराएको जनाएको छ।
महासंघका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अर्थमन्त्रीमार्फत ४३ लाख ४४ हजार ४४५ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ।
त्यसैगरी, नुवाकोटका बाढीपीडित उद्योगी व्यवसायी तथा प्रभावित परिवारलाई समेत आर्थिक सहयोग प्रदान गरिएको छ। बाढीका कारण ज्यान गुमाउनुका साथै उद्योग, घर तथा जग्गासमेत क्षति बेहोरेका जिल्ला अध्यक्ष स्वर्गीय मुक्तबहादुर बोगटीको परिवारलाई २ लाख ५१ हजार रुपैयाँ सहयोग गरिएको छ।
यस्तै, बाढीमा ज्यान गुमाएका स्वर्गीय सन्तलाल डंगोल र उनकी श्रीमतीको परिवारलाई २ लाख ५१ हजार रुपैयाँ प्रदान गरिएको छ। उक्त परिवारको उद्योग र घरसमेत बाढीले बगाएको महासंघले जनाएको छ।
बाढीका कारण आमा, श्रीमती र छोरी गुमाउनुका साथै उद्योग र घरसमेत क्षति बेहोरेका मोहनबहादुर लोहारलाई १ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ।
त्यसैगरी, उद्योगमा कार्यरत दुई जना श्रमिकको मृत्यु हुनुका साथै उद्योग र घरसमेत बाढीले बगाएका सीताराम खतिवडालाई १ लाख १ हजार रुपैयाँ राहत उपलब्ध गराइएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद प्रजापतिको नेतृत्वमा पदाधिकारी तथा सदस्यहरूको टोली सहभागी भएको थियो। कार्यक्रममा कोषाध्यक्ष कालीमान खत्री, उपमहासचिव रोजिता वस्ती, उपत्यका विशेष अध्यक्ष तीर्थ महर्जन, बागमती प्रदेश अध्यक्ष रविन्द्र वैद्यवार, मधेश प्रदेश अध्यक्ष राम कैलाश साह, काभ्रे जिल्ला अध्यक्ष प्रेम तामाङ तथा जिल्ला उपाध्यक्ष गोपाल तिमल्सिनालगायतको उपस्थिति रहेको थियो।
महासंघकी उपमहासचिव रोजिता वस्तीका अनुसार बाढीपीडित परिवारको राहत, पुनर्स्थापना तथा व्यवसाय पुनः सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो।











