
जापान, असोज १७ — बाध्यतावश गाउँघर र मातृभूमि छाडेर परदेशिएका नेपालीहरूको पीडा, संघर्ष र जन्मभूमिप्रतिको प्रेम समेटिएको गीत ‘देशै पियारो’ सार्वजनिक गरिएको छ।
सर्जक काशीराम भण्डारीको प्रस्तुतिमा रहेको उक्त गीतले परिवारको सुख, भविष्य र जीवनयापनका लागि विदेशमा पसिना बगाइरहेका नेपालीहरूको भावना उजागर गरेको छ। गीत शनिबार भण्डारीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतकार तथा कलाकार भण्डारी नेपाल कल्याण समाज जापानका वरिष्ठ उपाध्यक्षसमेत हुन्। जापानमा रहेर सामाजिक क्षेत्रमा सक्रिय भण्डारीले आफ्नो सिर्जनामार्फत परदेशी नेपालीको भावना, गाउँघरको सम्झना र मातृभूमिप्रतिको आत्मीयतालाई अभिव्यक्त गर्ने प्रयास गरेका छन्।
परदेशमा जति नै धन–सम्पत्ति कमाए पनि आफ्नै गाउँको माटो, घर–आँगन र बाल्यकालका सम्झनाहरू मनबाट कहिल्यै टाढा नहुने भाव गीतमा समेटिएको भण्डारीले बताएका छन्। विशेषगरी आटो–ढिँडो, रोटी, गुन्द्रुकको झोल तथा गाउँघरको आत्मीयतालाई परदेशी जीवनका अनुभूतिसँग जोड्ने प्रयास गरिएको उनको भनाइ छ।
‘देशै पियारो’ मार्फत विदेशी जीवनको भौतिक संघर्षसँगै मनभित्र सधैँ जीवित रहने गाउँ, आफ्ना मान्छे र माटोप्रतिको मायालाई प्रस्तुत गरिएको छ।
गीतमा गायक सरोज बिरही कार्की को स्वर रहेको छ। संगीत संयोजन पनि कार्कीकै रहेको छ भने मिक्सिङ मनोज परियार ले गरेका छन्। मिलन श्रेष्ठ को निर्देशन रहेको म्युजिक भिडियोमा काशीराम भण्डारी र समीक्षा सापकोटा को मुख्य अभिनय रहेको छ।










