कालिगण्डकी आवासीय विद्यालयमा तनाव व्यवस्थापन र सकारात्मक सोचसम्बन्धी प्रशिक्षण

-


     हिड्न खबर संवाददाता     
     असाेज १७ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १७ । कालिगण्डकी आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई तनाव व्यवस्थापन तथा सकारात्मक सोचसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा ‘खुसी मन’ बागलुङका अध्यक्ष नारायणप्रसाद आचार्यले तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिनुभएको थियो। उहाँले विद्यार्थीमा तनाव उत्पन्न हुने कारण, त्यसका प्रभाव तथा तनावलाई सकारात्मक रूपमा व्यवस्थापन गर्ने उपायबारे जानकारी गराउनुभयो। नियमित दिनचर्या, पर्याप्त आराम, सकारात्मक सोच, आफ्ना भावना व्यक्त गर्ने बानी तथा समस्या समाधानमा केन्द्रित अभ्यासले तनाव व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ थियो।

विद्यार्थीहरूले आफ्ना समस्या र तनावलाई मनभित्रै दबाएर राख्नुभन्दा शिक्षक, अभिभावक तथा विश्वासिला व्यक्तिसँग खुला रूपमा छलफल गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

विद्यालयका शिक्षक जीवननाथ शर्माले सकारात्मक सोचसम्बन्धी प्रशिक्षण दिँदै परिस्थितिलाई हेर्ने दृष्टिकोणले व्यक्तिको व्यवहार र कार्यक्षमतामा प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो। कठिन परिस्थितिमा पनि सकारात्मक सोचका साथ अघि बढ्न विद्यार्थीहरूलाई उहाँले आग्रह गर्नुभयो।

त्यस्तै, खेलकुद शिक्षक महेन्द्र खड्काले तनाव व्यवस्थापनमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। शारीरिक गतिविधि तथा नियमित खेलकुदले विद्यार्थीहरूको शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने उहाँको भनाइ थियो।

कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रीय सचिव बालकृष्ण शर्माले विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै मानसिक तथा भावनात्मक विकासलाई पनि समान महत्व दिनुपर्ने धारणा राख्नुभयो। विद्यार्थी जीवनमा आउने विभिन्न चुनौती र दबाबलाई सही ढंगले व्यवस्थापन गर्न सक्नुपर्ने बताउँदै उहाँले सफलता केवल परीक्षाको नतिजाले मात्र निर्धारण नहुने उल्लेख गर्नुभयो।

नेशनल प्याब्सन गण्डकी प्रदेश सचिव निशान खड्का तथा नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष सुवास आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै सकारात्मक सोच र मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। विद्यालय तहबाटै जीवनोपयोगी सीप विकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा उहाँहरूले जोड दिनुभयो।

विद्यालयका संस्थापक निरञ्जनलाल राजभण्डारीको अध्यक्षता, भाइस प्रिन्सिपल बाबुल शर्माको स्वागत मन्तव्य तथा शिक्षक केदार पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।