
बागलुङ, असोज १७
अविरल वर्षापछि क्षति पुगेको बागलुङ बजारको खानेपानी पाइपलाइन मर्मत तथा पुनः जडान कार्यमा नेपाली सेना सहितका सुरक्षा निकाय सक्रिय भएका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको लगातार वर्षाका कारण बागलुङ नगरपालिका–९ स्थित रिठेखोलाबाट ल्याइएको खानेपानीको पाइप काठेखोलामा क्षतिग्रस्त भएको थियो। जोखिमपूर्ण क्षेत्रमा रहेको उक्त पाइप नेपाली सेनाको कालिजंग गण, घोडाबाँधे ब्यारेकको टोलीले दुई दिन लगाएर मर्मत तथा जडान गरेको हो।
कालिजंग गणका गणपति प्रमुख सेनानी शिवबहादुर अधिकारीका अनुसार उक्त पाइपमार्फत हाल प्रतिक्षण चार लिटर पानी आपूर्ति भइरहेको छ।
काठेखोलामाथिको जोखिमयुक्त स्थानमा सेनाको सक्रियतामा पाइप पुनः जडान गरिएको उहाँले जानकारी दिनुभयो।
वर्षासँगै आएको बाढी, पहिरो र भूक्षयका कारण खानेपानी आपूर्ति गर्ने पाइप तथा अन्य संरचनामा क्षति पुगेपछि बागलुङ बजारमा नियमित खानेपानी वितरण प्रभावित भएको थियो। नगर खानेपानी तथा उपभोक्ता संस्थासँग पर्याप्त जनशक्ति नभएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा बागलुङ नगरपालिकाको नगर प्रहरीको सहयोगमा मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइएको छ।
नगर खानेपानी तथा उपभोक्ता संस्थाका अनुसार बागलुङ बजारमा दैनिक करिब ३५ लाख लिटर पानीको माग रहने गरेको छ। शुक्रबारदेखि करिब २० लाख लिटर पानी आपूर्ति हुन थालेपछि खानेपानी समस्या आंशिक रूपमा समाधान हुँदै गएको छ ।
हाल तित्याङको रिठेखोला, कैलामपोखरीबाट लिफ्ट प्रणालीमार्फत तथा रेश क्षेत्रबाट बागलुङ बजारमा पानी आपूर्ति भइरहेको छ। भुँदी खोलाबाट पानी ल्याउने संरचनामा ठूलो पहिरो गएपछि त्यहाँबाट नियमित आपूर्ति पुनः सञ्चालन हुन केही समय लाग्ने जनाइएको छ।
खानेपानी अभाव भएपछि रातामाटा उपभोक्ता संस्था र पाखाथर उपभोक्ता संस्थाको ओभरफ्लो पानी नगर खानेपानीको रिजर्भ ट्याङ्कीमा ल्याई वितरण गरिएको छ। सुल्डाँडाको रिजर्भ ट्याङ्कीबाट मुख्य बजार, गुठी र रामरेखा क्षेत्रमा पानी वितरण भइरहेको छ भने रातामाटाको पुरानो ट्याङ्कीबाट श्रीनगरटोल, उपल्लाचौर र वडारचौर क्षेत्रमा पानी आपूर्ति भइरहेको छ।
खानेपानी संकट चुलिएपछि बागलुङ नगरपालिकाले दमकलमार्फत समेत पानी वितरण गरेको थियो। पर्याप्त पानी उपलब्ध हुन नसकेका कारण दमकलबाट पानी लिन स्थानीयवासीको भीड लाग्ने गरेको थियो।

तस्बिर क्याप्सन : काठेखोलाको जोखिमपूर्ण क्षेत्रमा क्षतिग्रस्त खानेपानी पाइप मर्मत तथा जडान गर्दै नेपाली सेनाको टोली।









