
काठमाडौं, असोज १७ । लायन्स क्लब अफ काठमाडौं ग्रीन टाउनले आफ्नो नियमित सेवामूलक कार्यक्रमअन्तर्गत शनिबार तारकेश्वर–३, ठुलोगाउँस्थित मातृनेपाल बालगृह मा आश्रित ४० भन्दा बढी बालबालिकाका लागि खाद्यान्न वितरण तथा निःशुल्क दृष्टि परीक्षण कार्यक्रम सञ्चालन गरेको छ।

लायन्स क्लबले प्राथमिकता दिने हंगर रिलिफ (भोकमरी न्यूनीकरण) र भिजन (दृष्टि संरक्षण) कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा बालबालिकाको आँखाको परीक्षण गरी आवश्यक चस्मा तथा औषधिसमेत वितरण गरिएको क्लबले जनाएको छ।
परीक्षणपछि तत्काल उपलब्ध हुन नसकेका चस्मा तथा अन्य सामग्री चिकित्सकको प्रेस्क्रिप्सनका आधारमा उपलब्ध गराइने प्रतिबद्धता समेत क्लबले जनाएको छ।

कार्यक्रममा औषधि व्यवस्थापनका लागि लायन्स क्लब अफ काठमाडौं प्रेजले समेत सहकार्य गरेको थियो। क्लबका अध्यक्ष लायन नारायण सुवेदीले आफ्नो क्लब तथा आबद्ध कम्पनीको कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएकाे थियो ।

ग्रीन टाउन क्लबमा दृष्टि रोग विशेषज्ञ तथा वातावरण संरक्षण क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको छ। क्लबका अध्यक्ष डा. जय विक्रम शाह स्वयं दृष्टि रोग विशेषज्ञ हुन्।
कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के, नेपालका डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी रहेका थिए। कार्यक्रममा सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसन कुमार गोपाली, डिस्ट्रिक्ट पीआरओ–इन–चीफ लायन सुरेन्द्र बाबु श्रेष्ठ, क्लस्टर चिफ लायन अमर सुवाल, डिस्ट्रिक्ट पीआरओ लायन जेबी अधिकारी, रिजन चेयरपर्सन लायन धुर्वप्रसाद घिमिरे, जोन चेयरपर्सन लायन निर्मल भट्टराई, लायन्स क्लब अफ काठमाडौं प्रेजका अध्यक्ष लायन नारायण सुवेदी तथा ग्रीन टाउनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै जोन चेयरपर्सन लायन निर्मल भट्टराईले यस्ता सेवामूलक गतिविधिले लायन्सप्रति आम नागरिकको विश्वास र सकारात्मक धारणा अझ बलियो बनाउने तथा सेवाका हातहरू थपिँदै जाने विश्वास व्यक्त गरे। उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजकलाई बधाई तथा शुभकामना समेत दिएका थिए।

















