कुश्मिसेरामा २८ किशोरीलाई HPV खोप प्रदान

-


     सुजन आचार्य     
     असाेज १४ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १४ — पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिसेरामा लक्षित किशोरीहरूलाई एचपीभी (HPV) खोप प्रदान गरिएको छ।

कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको समन्वय तथा स्वास्थ्यकर्मीहरूको सहभागितामा वडा क्षेत्रभित्र रहेका तीन माध्यमिक विद्यालयका किशोरीहरूलाई खोप प्रदान गरिएको हो।

स्वास्थ्य केन्द्रका अनुसार असोज १२, १३ र १४ गते सञ्चालन गरिएको खोप अभियानमार्फत तीनवटै विद्यालयका २८ जना किशोरीले एचपीभी खोप प्राप्त गरेका छन्।

पाठेघरको मुखको क्यान्सरको प्रमुख कारणमध्ये एक मानिने ह्युमन प्यापिलोमा भाइरस (HPV) संक्रमणबाट बचाउन यो खोप प्रभावकारी मानिन्छ।

स्वास्थ्यकर्मीहरूका अनुसार किशोरीहरूलाई लक्षित गरी सञ्चालन गरिएको अभियानले भविष्यमा एचपीभी संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्वास्थ्य संस्थाले लक्षित उमेर समूहका किशोरीहरूलाई समयमै खोप लगाउन तथा स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी लिन आग्रह गरेको छ। विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीचको सहकार्यबाट यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सकिने स्वास्थ्यकर्मीहरूको भनाइ छ।

तीन दिनसम्म सञ्चालन भएको अभियानमा लक्षित सबै २८ किशोरीले खोप प्राप्त गरेसँगै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ।