कांग्रेसमा नयाँ पुस्तालाई अर्थपूर्ण रूपमा जोड्ने वातावरण बनेको छ : चम्पादेवी खड्का

- क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै युवामुखी राजनीति र प्रभावकारी महिला सहभागितामा जोड”।

-


     सुवास आचार्य     
     असाेज १३ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १३ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य चम्पादेवी खड्काले नेपाली कांग्रेसमा नयाँ पुस्तालाई राजनीतिमा अर्थपूर्ण रूपमा जोड्ने वातावरण निर्माण भएको बताएकी छन्।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै खड्काले युवा पुस्ताले खोजेका अवसर, रोजगारी, शिक्षा, प्रविधि, उद्यमशीलता र नेतृत्व विकासका विषयलाई राजनीतिक बहसको केन्द्रमा राख्नुपर्ने बताइन्।

उनले महिलाको सहभागिता संख्यामा मात्र सीमित नभई निर्णय प्रक्रियामा प्रभावकारी, सम्मानजनक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन्।

अधिवेशनमा आउने विचार र मतभिन्नतालाई लोकतान्त्रिक संस्कारका रूपमा ग्रहण गर्नुपर्ने उल्लेख गर्दै खड्काले फरक विचारलाई सम्मान गर्ने, स्वस्थ बहस गर्ने तथा निर्णय भएपछि त्यसलाई संस्थागत रूपमा स्वीकार गर्दै अघि बढ्ने संस्कार नै लोकतान्त्रिक राजनीतिको आधार भएको बताइन्।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जगदीशचन्द्र उपाध्याय र भीमबहादुर श्रीस राना, पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य रत्ना शेरचन, गण्डकी प्रदेश कोषाध्यक्ष तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, कांग्रेस बागलुङका पूर्व सभापति हरिप्रसाद श्रेष्ठ, पूर्व सभापति तथा संविधानसभा सदस्य प्रकाश शर्मा पौडेल, गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदी, नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्मा, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका उपसभापति तथा प्रदेश ‘ख’ का सभापति दलबहादुर श्रीस राना तथा अक्षयकोषका दाताका तर्फबाट कृष्णशंकर श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ ले संगठनको संस्थागत विकास, सुदृढीकरण, नियमित गतिविधिको निरन्तरता तथा दिगो आर्थिक स्रोत व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा सहयोग गर्ने दाताहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा क्षेत्रीय कार्यसमितिका सचिव जयराम भारीले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष दिननाथ गौतमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी प्रदेश ‘क’ का सचिव माधवप्रसाद उपाध्याय र प्रदेश ‘ख’ का सचिव बालकृष्ण शर्माले आ-आफ्नो सचिवीय प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ बागलुङका सभापति चण्डीप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपसभापति तथा प्रदेश ‘क’ का सभापति हरिबहादुर जिसी ‘सन्तोष’ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव जयराम भारीले गरेका थिए।

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत संघीय तथा प्रदेश निर्वाचन क्षेत्रस्तरको अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ। नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भइसकेको छ। सर्वसम्मत नेतृत्व चयन हुन नसके बुधबार मतदान गरिने तयारी गरिएको छ।

यसअघि असोज १० गतेका लागि निर्धारित अधिवेशन अत्यधिक वर्षाका कारण स्थगित भई सोमबारबाट सुरु भएको हो। अधिवेशनमा करिब एक हजार तीन सय प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ।