विश्व रेबिज दिवसमा विद्यार्थीद्वारा कुकुर र बिरालोलाई रेबिजविरुद्ध खोप

-


     हिड्न खबर संवाददाता     
     असाेज १३ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १३
‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने अवधारणालाई आत्मसात गर्दै विद्यालयस्तरमै व्यवहारिक ज्ञान र सीप प्रदान गर्ने अभियानअन्तर्गत बागलुङमा विद्यार्थीहरूले रेबिज नियन्त्रणसम्बन्धी व्यवहारिक कार्यक्रममा सहभागिता जनाएका छन्।

विश्व रेबिज दिवसको अवसरमा बागलुङस्थित धवलागिरि वीरेन्द्र माध्यमिक विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता, विद्यालयका प्राविधिक टोली तथा डा. रचित देवकोटाको नेतृत्वमा विद्यालय आसपास रहेका कुकुर र बिरालोलाई समातेर रेबिजविरुद्ध खोप लगाउने कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका लागि जिल्ला पशु सेवा कार्यालय बागलुङले आवश्यक खोप तथा प्राविधिक सामग्री उपलब्ध गराएको थियो। विद्यार्थीहरूले प्रत्यक्ष रूपमा पशु स्वास्थ्यसम्बन्धी व्यवहारिक अभ्यास गर्ने अवसर प्राप्त गरेका थिए।

बागलुङ सदरमुकाम क्षेत्रमा छाडा तथा भुसिया कुकुरको संख्या बढ्दै जाँदा पैदलयात्री, मोटरसाइकल तथा स्कुटर चालकलगायत सर्वसाधारण कुकुरको टोकाइबाट घाइते हुने घटना बेलाबेलामा हुने गरेका छन्।

जिल्ला पशु सेवा कार्यालयले समय–समयमा रेबिजविरुद्ध खोप अभियान सञ्चालन गर्दै आए पनि त्यसलाई अझ प्रभावकारी र व्यापक बनाउनुपर्ने आवश्यकता रहेको भन्दै स्थानीयवासीले गुनासो गर्दै आएका छन्।