अविरल वर्षापछि बागलुङका मुख्य सडक अवरुद्ध, सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह

-


     हिडन खबर    
     असाेज १३ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १३ । अविरल वर्षाका कारण बागलुङ जिल्लाका विभिन्न मुख्य तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सडकको अवस्थाबारे जानकारी गराएको हो।

प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ बजारदेखि निसीखोलाको कानाबगरसम्म एकतर्फी सवारी सञ्चालन भइरहेको छ। यस्तै, बेनी–बागलुङ सडकमा बागलुङ बजारदेखि बेनी बजारसम्म एकतर्फी रूपमा सवारी साधन सञ्चालन गर्न सकिने अवस्था रहेको जनाइएको छ।

त्यसैगरी कालीगण्डकी करिडोर अन्तर्गत बागलुङ बजारदेखि जैमिनीघाटसम्म एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने जैमिनीघाटदेखि पश्चिम खण्ड गुल्मी सीमासम्मको सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

जिल्लाका विभिन्न ग्रामीण सडकहरूमा समेत ठाउँ–ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको भन्दै स्थानीय तह तथा स्थानीय बासिन्दासँग सम्पर्क गरेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

अविरल वर्षा जारी रहेकाले सडकको अवस्था थप जटिल हुन सक्ने भन्दै अत्यावश्यक कामबाहेक जोखिमपूर्ण यात्रा नगर्न तथा यात्रा गर्नै परेमा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अघि बढ्न जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना प्रहरी निरीक्षक अधिकारी याम नारायण अर्यालले आग्रह गरेका छन् ।