अविरल वर्षाले बागलुङमा ११ जनाको मृत्यु, ५१ घर पूर्ण रूपमा क्षतिग्रस्त

-


     हिड्न खबर संवाददाता     
     असाेज १३ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १३ । अविरल वर्षासँगै आएको बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण बागलुङ जिल्लामा हालसम्म ११ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार ५ पुरुष, ६ महिला र ३ बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन्। एक महिला अझै बेपत्ता रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक याम नारायण अर्यालका अनुसार विपद्बाट जिल्लाभर ५१ वटा घर पूर्ण रूपमा र ५१ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यस्तै १० वटा गोठ पूर्ण रूपमा र एक वटा गोठ आंशिक रूपमा क्षति भएका छन्।

विपद्का कारण तीन वटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका छन् भने दुई वटा प्रहरी कार्यालय, एक वटा हाइड्रोपावर, एक विद्यालय तथा एक वडा कार्यालयमा समेत क्षति पुगेको छ। त्यसैगरी एक रिसोर्ट र एक कृषि फार्म पूर्ण रूपमा नष्ट भएका छन्।

प्रहरीको तथ्यांकअनुसार २५६ वटा पशुचौपाया मरेका छन् भने २१५ वटा कुखुरा पनि नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङले क्षतिको विवरण संकलन तथा उद्धार कार्य जारी रहेको जनाएको छ। थप विवरण आउने क्रम जारी रहेकाले क्षतिको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।