बाढीपीडितको घाउमा मल्हम बन्न पुग्यो लायन्स क्लब अफ निसीखोला

-


     हिड्न खबरदाता     
     असाेज १२ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज १२ । बाढी तथा पहिरोबाट प्रभावित बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोला कानाबगर क्षेत्रमा लायन्स क्लब अफ निसीखोलाले राहत तथा उद्धार सहयोगमा सक्रिय सहभागिता जनाएको छ।

हामी सेवा गर्छौं’ भन्ने मूल भावनासहित स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ निसीखोलाको टोली प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, उद्धार तथा पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको हो।

क्लबका अध्यक्ष अशोक कार्कीका अनुसार बाढीले ठूलो क्षति पुर्‍याएको झिवाखोला–कानाबगर क्षेत्रमा पुगेर क्लबका सदस्यहरूले स्थानीयवासीसँग सहकार्य गर्दै विभिन्न स्थानमा आवश्यक सहयोग गरेका छन्। “जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने भावनाअनुसार सबैलाई आ–आफ्नो ठाउँबाट जुट्न र सकेको सहयोग गरी पीडितको घाउमा मल्हम लगाउन आग्रह गरिएको उनले बताए।

अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण निसीखोलामा ३९ घर पूर्ण रूपमा क्षति भएका छन् भने १४१ जना प्रभावित भएका छन्। त्यसैगरी ३२ घर उच्च जोखिममा परेका छन्, जसबाट २४९ जना प्रभावित भएका छन्। थप ९६ घर जोखिममा रहँदा ४२९ जना जोखिमपूर्ण अवस्थामा रहेको अध्यक्ष कार्कीले जानकारी दिए।

प्राकृतिक विपत्तिका कारण हालसम्म पाँच जनाको ज्यान गएको छ। प्रभावित परिवारहरू अहिले आफन्तका घर तथा विद्यालयमा अस्थायी रूपमा आश्रय लिएर बसिरहेका छन्।

स्थानीयस्तरमा राहत, उद्धार र सरसफाइ अभियानमा लायन्स क्लब अफ निसीखोलाले देखाएको सक्रियता बाढीपीडितका लागि महत्वपूर्ण सहारा बनेको स्थानीयवासीले बताएका छन्।