बाढी हेर्न गएका एककाे भिरबाट लडेर मृत्यु

-


     सुजन आचार्य     
     असाेज १२ गते २०८३ मा प्रकाशित


बागलुङ असाेज १२

बागलुङमा कालीगण्डकी नदीको बाढी हेर्न गएका एक जनाको भिरबाट लडेर मृत्यु भएको छ। बाढीको अवस्था अवलोकन गर्ने क्रममा दुर्घटना भएपछि स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

बागलुङ नगरपालिका–४ ओढारचौरका ५५ वर्षीय चित्र गोतामेको कालीगण्डकी नदीको बहाव हेर्ने क्रममा ढिस्कोबाट लडेर मृत्यु भएको हो। दुर्घटनापछि उनलाइ उद्धार गरी उपचारका धाैलागिरि अस्पतालमा लागि उपचार गर्ने क्रममा उनकाे मृत्युु भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक गोतामे विगत दुई दशकदेखि बागलुङ सदरमुकामस्थित ज्ञानकुञ्ज स्टेसनरीमार्फत दैनिक रूपमा पत्रपत्रिका घरघर तथा विभिन्न कार्यालयमा पुर्‍याउने काममा सक्रिय रहँदै आएका थिए ।

निरन्तर वर्षासँगै कालीगण्डकीसहित जिल्लाका विभिन्न नदी तथा खोलामा पानीको बहाव बढिरहेको छ। बाढीको अवस्था हेर्न नदी किनार तथा जोखिमयुक्त स्थानमा पुग्ने क्रम बढेपछि दुर्घटनाको सम्भावना पनि बढेको छ।

प्रशासनले नदी किनार, कटान भएका क्षेत्र, भिरालो जमिन तथा चिप्लो बाटोबाट टाढा रहन र बाढीग्रस्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।