लायन्स क्लबकाे संयुक्त सपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न

-


     हिड्न खबर संवाददाता     
     असाेज ११ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज ११ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियामा रहेका विभिन्न लायन्स क्लबहरूको लायन वर्ष २०२६/२७ को संयुक्त सपथग्रहण तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर लायन हसनकुमार गोपाली, डिस्ट्रिक्ट चिफ एडभाइजर लायन मीनराज काफ्ले, डिस्ट्रिक्ट सेक्रेटरी लायन गणेश जिसी, मिसन १.५ चिफ लायन महाप्रसाद पाण्डे, चिफ एक्जुकेटिभ लायन सन्तोष सराफ, क्लस्टर चिफ लायन सुवर्ण कडेल, रिजन चेयरपर्सन लायन प्रेमप्रसाद शर्मा पौडेल, जोन चेयरपर्सन लायन बालसिंह पोखरेल, लायन चन्दन सराफलगायतका लायन्स लिडरहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न क्लबका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको उत्साहजनक सहभागिता रहेको थियो। काठमाडौं टेम्पल सिटी, काठमाडौं टेम्पल सिद्धिविनायक, काठमाडौं हाम्रो संगम, काठमाडौं आशुतोष, काठमाडौं टेम्पल चाँगुनारायण, काठमाडौं हाम्रो नवज्योति, काठमाडौं सराफ, काठमाडौं गजानन तथा लियो क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकलगायतका क्लबका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमले विभिन्न क्लबबीच आपसी सहकार्य, भाइचारा, नेतृत्व विकास तथा मानवीय सेवाका क्षेत्रमा थप प्रभावकारी रूपमा अघि बढ्ने साझा प्रतिबद्धतालाई मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

समारोहमा बोल्दै लायन्स लिडरहरूले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै लायन्सको मूल मन्त्र “We Serve” लाई आत्मसात् गरी समाज र समुदायको सेवामा अझ सक्रिय रूपमा लाग्न आग्रह गरेका थिए।

क्लस्टर चिफ लायन सुवर्ण कडेलको नेतृत्वमा सम्पन्न उक्त संयुक्त पदस्थापन कार्यक्रमले लायन वर्ष २०२६/२७ का लागि नयाँ ऊर्जा, नयाँ उत्साह र सेवामूलक अभियानको नयाँ सुरुआत गरेको आयोजकले जनाएको छ।