निरन्तर वर्षापछि कालीगण्डकीमा बहाव बढ्दा जैमिनीधाम क्षेत्र डुबानमा

-


     सुजन आचार्य     
     असाेज ११ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज ११ । निरन्तर वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढ्दा बागलुङको जैमिनी नगरपालिका–१ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र जैमिनीधाम डुबानमा परेको छ।

नदीको जलसतह बढेसँगै जैमिनीधामस्थित मन्दिर परिसर तथा नयाँ जैमिनी ऋषिको मूर्ति रहेको आसपासको क्षेत्र पानीले ढाकिएको स्थानीयले बताएका छन्। लगातारको वर्षाले नदीको बहाव बढेपछि तल्लो भूभागमा पानी पस्न थालेको हो।

स्थानीयका अनुसार कालीगण्डकीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेकाले नदी किनारका संरचना, धार्मिक स्थल तथा अन्य भौतिक पूर्वाधारमा जोखिम बढेको छ। नदीको सतह बढेपछि जैमिनीधाम आउने–जाने श्रद्धालु तथा पर्यटकलाई समेत सतर्कता अपनाउन आग्रह गरिएको छ।

वर्षाका कारण जैमिनी नगरपालिका–१ सहित आसपासका क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। सडक तथा ग्रामीण क्षेत्रमा आवतजावत गर्दा पहिरो, बाढी र नदी कटानको जोखिम रहेकाले स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

स्थानीयले कालीगण्डकी नदीको बहाव सामान्य नहुँदासम्म नदी किनारमा अनावश्यक रूपमा नजान, फोटो खिच्न वा अवलोकनका लागि जोखिमयुक्त स्थानमा नपुग्न आग्रह गरेका छन्।

जैमिनीधाम क्षेत्रको अवस्थाबारे सम्बन्धित स्थानीय तह र सुरक्षा निकायले निगरानी बढाई आवश्यक व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ। लगातारको वर्षासँगै नदीको बहाव र डुबानको अवस्था परिवर्तन हुन सक्ने भएकाले सतर्क रहन प्रशासनले समेत आग्रह गरेको छ।