
बागलुङ, असोज १० । नेपाल प्रहरीको सेवा प्रभावकारिता अभिवृद्धि, संगठनात्मक सुधार तथा असल अभ्यासको मूल्याङ्कन गर्ने उद्देश्यले सञ्चालन गरिएको “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८३” अन्तर्गत बागलुङको प्रहरी चौकी धम्जा बिहुँमा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ।

केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शिद्धी विक्रम शाह, प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्य तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको टोलीले प्रहरी चौकी धम्जा बिहुँको स्थलगत निरीक्षण तथा अवलोकन गरेको हो।

निरीक्षणका क्रममा टोलीले कार्यालयको प्रस्तुतीकरण, विभिन्न शाखाको कार्यसम्पादन, अभिलेख व्यवस्थापन, जनशक्ति परिचालन, भौतिक पूर्वाधारको अवस्था, अपराध अनुसन्धान तथा विश्लेषण, प्रशासनिक गतिविधिलगायतका विषयमा अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

कार्यक्रमका क्रममा एआईजी शाहले जिल्ला प्रहरी कार्यालय बागलुङ तथा प्रहरी चौकी धम्जा बिहुँमा कार्यरत प्रहरी कर्मचारीलाई सेवा प्रवाहलाई थप प्रभावकारी, उत्तरदायी र नागरिकमैत्री बनाउन आवश्यक निर्देशनसमेत दिएका थिए।

नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयहरूको कार्यसम्पादन, सेवा प्रभावकारिता तथा व्यवस्थापकीय क्षमताको मूल्याङ्कन गर्दै सुधारका क्षेत्र पहिचान गर्ने उद्देश्यले ‘Police Baton’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।










