
बागलुङ, असोज १० । जैमिनी नगरपालिका–१ कुस्मिसेराको पोखरी क्षेत्रमा कुस्मिसेरा–भरिथान जोड्ने नयाँ सडक निर्माणपछि वर्षायाममा हिलो, माटो र पानी खेतबारीमा पस्दा स्थानीय किसान समस्यामा परेका छन्।
स्थानीयका अनुसार सडकमा पर्याप्त नाली तथा पानी निकासको व्यवस्था नहुँदा वर्षाको पानीसँगै हिलो र माटो बगेर धानखेतीमा पुगेको छ। लगातारको वर्षापछि करिब तीन हल क्षेत्रफलको धानखेत पुरिएको स्थानीयवासीले बताएका छन्।
सडक निर्माणका क्रममा निस्किएको माटो तथा ढुंगा व्यवस्थित रूपमा व्यवस्थापन नगरिएकाले समस्या झन् बढेको स्थानीयको गुनासो छ। उनीहरूले सडकसँगै नाली निर्माण, पानी निकासको उचित व्यवस्था, थुप्रिएको माटो–ढुंगा व्यवस्थापन तथा क्षतिग्रस्त खेतको स्थलगत निरीक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयवासीले विकास निर्माणसँगै कृषि भूमि संरक्षण, पहिरो नियन्त्रण र सुरक्षित पानी निकासको व्यवस्थालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।










