
पोखरा, असोज ९ — जिल्ला समन्वय समिति कास्कीमा जिल्लाभर क्रियाशील गैरसरकारी संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ।

दुई दिनसम्म सञ्चालन हुने समीक्षा कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले गर्नुभयो। उहाँले गैरसरकारी संस्थाहरूलाई स्पष्ट योजना, पारदर्शिता र उत्तरदायित्वका साथ प्रभावकारी रूपमा काम गर्न आग्रह गर्नुभयो।

पौडेलले मानव विकास तथा दिगो विकास लक्ष्य प्राप्तिमा गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानुनबमोजिम कर्मचारीका सेवा–सुविधा सुनिश्चित गर्न र दातृ निकायबाट प्राप्त अनुदानको सदुपयोग गर्न सुझाव दिनुभयो।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, पोखरा महानगरपालिकाकी बाल कल्याण अधिकारी बेलकुमारी गुरुङलगायतले गैरसरकारी संस्थाहरूको वर्तमान कार्य र भावी भूमिकाबारे धारणा राख्नुभएको थियो।

समीक्षा कार्यक्रममा राइट फर चिल्ड्रेन, चिल्ड्रेन नेपाल, कोपिला नेपाल, शक्ति समूह, साना हातहरू नेपाल, थ्री एन्जल्स नेपाललगायत १५ संस्थाले आफ्ना कार्यक्रम तथा गतिविधिबारे प्रस्तुति दिएका छन्।

जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपप्रमुख सरिता माल र सञ्चालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो। सूचना अधिकारी लक्षु शर्माले उक्त जानकारी दिनुभयो।











