
काठमाडौं, असोज ८
“जहाँ आवश्यकता, त्यहाँ लायन्स” भन्ने मूल नारासहित लायन्स क्लब अफ काठमाडौं मनास्लु गणेश हिमालले आफ्नो सातौँ चार्टर डे (स्थापना दिवस) फरक शैलीमा मनाएको छ।

क्लबले स्थापना दिवस तथा लायन किरण थापाको जन्मदिनको अवसर पारेर काठमाडौंस्थित साहारा इन्टरनेसनल नेपाल बालआश्रममा आश्रित बालबालिकासँग साँझको भोजन कार्यक्रम आयोजना गर्दै मानवीय सेवामार्फत दिवस मनाएको हो।

कार्यक्रममा आश्रममा रहेका बालबालिकालाई भोजन गराउनुका साथै उनीहरूसँग आत्मीय भेटघाट तथा फेलोसिपसमेत गरिएको क्लबका सचिव लायन पुष्पाञ्जली वाग्लेले जानकारी दिए।

उनका अनुसार कार्यक्रम क्लबका संस्थापक अध्यक्ष, संस्थापक सदस्यहरू, पूर्व तथा वर्तमान पदाधिकारी, सदस्यहरू तथा शुभेच्छुकहरूको सहभागितामा सम्पन्न भएको थियो।

कार्यक्रमका सहभागीहरूले “सेवा नै धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै समाजका आवश्यकता भएका स्थानमा पुगेर मानवीय सेवा गर्न लायन्स अभियान निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए।

क्लबले स्थापना दिवसको अवसरमा सम्पूर्ण लायन परिवार तथा शुभेच्छुकहरूमा शुभकामना व्यक्त गर्दै सेवा, समर्पण र मानवताको यात्रामा क्लब अझ सशक्त, एकताबद्ध र प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

क्लबले लायन्स इन्टरनेसनलको “Leading With Purpose” अभियानलाई आत्मसात् गर्दै आगामी दिनमा पनि आवश्यकता भएका समुदायमा सेवा विस्तार गर्ने जनाएको छ।












