‘पापी पेट पाल्नै पर्यो’ भन्दै ईश्वर बाबुको नयाँ गीत सार्वजनिक

-


     केपी कुमार जलन     
     असाेज ८ गते २०८३ मा प्रकाशित


बागलुङ, असोज ८ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक ईश्वर बाबुको नयाँ गीत ‘पापी पेट पाल्नै पर्यो’ सार्वजनिक भएको छ।

लामो समयपछि आफ्ना गुरु तथा मेन्टर खेम सेन्चुरीसँग सांगीतिक सहकार्य गर्दै ईश्वर बाबुले उक्त गीत दर्शकमाझ ल्याएका हुन्।

गीतमा खेम सेन्चुरीको स्वर रहेको छ भने शब्द तथा संगीत ईश्वर बाबुकै रहेको छ। गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। रेकर्डिङ सागर बाजुराली र गोविन्द पराजुलीले गरेका हुन्।

रोजगारी, संघर्ष र जीविकोपार्जनका लागि मानिसले भोग्नुपर्ने बाध्यतालाई गीतले भावनात्मक रूपमा प्रस्तुत गरेको छ। ‘पापी पेट पाल्नै पर्यो’ शीर्षकले नै जीवनका विविध संघर्ष र बाध्यताको कथा बोल्ने भएकाले गीतको विषयवस्तु आम नेपालीको जीवनसँग नजिक रहेको देखिन्छ।

गीतको कथा तथा निर्देशन पनि ईश्वर बाबुकै रहेको छ। म्युजिक भिडियोमा कमला, कृष्तिना र लक्कीको अभिनय रहेको छ।

तीन वर्षपछि गुरु खेम सेन्चुरीसँग सांगीतिक रूपमा पुनर्मिलन गरेका ईश्वर बाबुले यस गीतमार्फत आफ्नो सांगीतिक यात्रालाई थप सक्रिय बनाएका छन्। गीत ईश्वर बाबुको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।