फ्लाई दुबईको नियमित उडान आजदेखि पोखरा, पर्यटन क्षेत्र उत्साहित

-


     हिड्न खबर डट्कम     
     असाेज ७ गते २०८३ मा प्रकाशित


काठमाडौं, असोज ७

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित व्यावसायिक उडान सुरु गरेको छ। यससँगै विमानस्थल सञ्चालनमा आएको करिब चार वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडानको अपेक्षाले मूर्त रूप लिन थालेको छ।

अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात् २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको आगमनलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएसँगै पर्यटन व्यवसायी, होटल व्यवसायी तथा उद्योगीहरू उत्साहित बनेका छन्। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार उडानका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तथा व्यवस्थापनको तयारी पूरा भइसकेको छ।
उनका अनुसार फ्लाई दुबईको विमान आज साँझ ६:१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७:१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका रहेको छ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहोरा (वाटर सल्युट) मार्फत विशेष स्वागत गरिनेछ।

महाप्रबन्धक निरौलाले अध्यागमन, भन्सार, कार्गो तथा अन्य सेवा प्रवाहका सबै संयन्त्र तयारी अवस्थामा रहेको जानकारी दिए। फ्लाई दुबईमार्फत पोखरा आउने तथा दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीहरूले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने कार्यक्रम पनि तय गरिएको छ।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले भन्सार प्रक्रियासम्बन्धी सम्पूर्ण तयारी पूरा भएको बताए। उनका अनुसार राजस्व सङ्कलन, वैध व्यापार सहजीकरण, यात्रु जाँचपास तथा निकासी–पैठारी व्यवस्थापनका लागि आवश्यक सबै प्रबन्ध मिलाइएको छ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हबमध्ये एक भएकाले फ्लाई दुबईमार्फत विश्वका १२० भन्दा बढी गन्तव्यसँग पोखराको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। उनले यो उडान दीर्घकालीन र नियमित रूपमा सञ्चालन हुने अपेक्षा व्यक्त गरे।

यसैबीच, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थल र आसपास क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन्।