सराङ्कोटमा नव निर्मित प्रहरी चौकी भवन उद्घाटन

-


     हिडन खबर    
     असाेज १ गते २०८३ मा प्रकाशित


पोखरा, असोज २ । कास्कीको सराङ्कोटस्थित नव निर्मित प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र घर्ती क्षेत्रीको प्रमुख आतिथ्यतामा पोखरा महानगरपालिका–१८, सराङ्कोट चपाईचौतारास्थित प्रहरी चौकी सराङ्कोटको नव निर्मित भवन उद्घाटन गरिएको हो।

गण्डकी प्रदेश सरकारको स्वीकृत बजेटअन्तर्गत रु. २ करोड ४० लाख ४५ हजार ९ सय ८३ रुपैयाँ ६३ पैसाको लागतमा निर्माण गरिएको उक्त भवनको निर्माण सम्झौता २०८१ असार २३ गते भएको थियो। परियोजनाअन्तर्गत कार्यालय भवन, मेस भवन, शौचालय, प्रतीक्षालय, गेट तथा पेरिमिटर वाल निर्माण सम्पन्न भएपछि औपचारिक रूपमा उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, पत्रकार, संघ–संस्थाका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र, आमा समूह, टोल विकास संस्थाका पदाधिकारी, बुद्धिजीवी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीआईजी क्षेत्रीले सराङ्कोट क्षेत्र पछिल्लो समय प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गरे। प्याराग्लाइडिङ, केबलकार, धार्मिक स्थल तथा होटल–रेस्टुरेन्टहरूको विस्तारसँगै यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र प्रहरी सेवालाई थप प्रभावकारी बनाउन नव निर्मित प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति धन्यवाद ज्ञापन गरेका थिए।

स्थानीयवासीले आधुनिक पूर्वाधारसहितको प्रहरी चौकी सञ्चालनमा आएपछि सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरेका छन्।