रसुवा बाढीपीडित परिवारलाई लायन्स क्लबहरूको राहत सहयोग

-


     हिडन खबर    
     भाद्र २८ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २८

रसुवालगायत बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका पीडित परिवारलाई विभिन्न लायन्स क्लबहरूले राहत सामग्री वितरण गरेका छन्।

मानवीय सेवामा समर्पित भावनासहित लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी, लायन्स क्लब अफ काठमाडौं मिमोसा यूथ र लायन्स क्लब अफ काठमाडौं सर्भेयर्स ले संयुक्त रूपमा राहत वितरण कार्यक्रम सञ्चालन गरेका हुन्। उक्त कार्यक्रम लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपाल अन्तर्गत सम्पन्न भएको जनाइएको छ।

कार्यक्रममा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई आवश्यक राहत सामग्री हस्तान्तरण गरिएको थियो। विपद्को कठिन परिस्थितिमा पीडित परिवारहरूको दुःख र आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले राहत वितरण गरिएको आयोजकले जनाएको छ।

डिस्ट्रिक्टका पूर्व गभर्नर पीडीजी लायन महेन्द्र पौडेल ले लायन्सको मूल आदर्श “We Serve” लाई व्यवहारमा उतार्दै विपद्मा परेका नागरिकहरूको साथमा उभिनु संस्थाको दायित्व भएको बताए। उनले मानवीय सेवामार्फत पीडित परिवारमा आशा, भरोसा र सहारा प्रदान गर्ने प्रयास गरिएको उल्लेख गरे।

राहत अभियान सफल बनाउन सहयोग, समन्वय र सहभागिता जनाउने सम्पूर्ण लायन्स सदस्य, सहयोगी तथा शुभेच्छुकप्रति आयोजकले आभार व्यक्त गरेको छ। साथै, विपद्बाट प्रभावित समुदायको पुनर्स्थापनाका लागि यस्ता सेवामूलक गतिविधि आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।