
पोखरा, भदौ २८
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धि ले कुशे औँसी (बुवाको मुख हेर्ने दिन) को अवसरमा मानव सेवाआश्रममा आश्रित वृद्ध बुवाहरूलाई भोजन गराएर मानवीय सेवा कार्यक्रम सम्पन्न गरेको छ।

पोखरा महानगरपालिका–२५, हेम्जास्थित मानव सेवाआश्रममा आश्रित १६५ जना वृद्ध बुवाहरूलाई शुक्रबार बिहान भोजन गराइएको क्लबले जनाएको छ। कार्यक्रम उद्योग वाणिज्य संघ पोखराकी नवनिर्वाचित अध्यक्ष शोभा गौतमको प्रमुख आतिथ्यता तथा क्लबका पूर्वअध्यक्ष लायन कुश्मा राणाको संयोजकत्वमा सम्पन्न भएको हो।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष लायन कल्पना श्रेष्ठ, हंगर रिलिफ चिफ लायन भरत अधिकारी, जीएसटी कोअर्डिनेटर तथा पूर्वअध्यक्ष लायन राधिका थापा, पूर्वअध्यक्षहरू लायन रजनी श्रेष्ठ र लायन देवी श्रेष्ठ, रिजन चेयरपर्सन लायन हिमानसिंह गुरुङ, निवर्तमान अध्यक्ष लायन सन्ध्या लिगल (बानियाँ), प्रथम उपाध्यक्ष लायन मधु गुरुङ, कोषाध्यक्ष लायन मनलक्ष्मी कार्की, बोर्ड सदस्य तथा क्लबका अन्य सदस्यहरूको सहभागिता रहेको थियो।

क्लबका अनुसार कार्यक्रम सफल बनाउन संयोजक लायन कुश्मा राणा, कोषाध्यक्ष लायन मनलक्ष्मी कार्की तथा उहाँका परिवारजनले महत्वपूर्ण सहयोग गरेका थिए। क्लबले उहाँहरूको सहयोग, समर्पण र आतिथ्यप्रति आभार व्यक्त गरेको छ।

क्लब अध्यक्ष लायन सीमा कोइरालाले कुशे औँसीको अवसरमा आश्रममा आश्रित बुवाहरूलाई भोजन गराउने अवसर प्राप्त हुनु सेवा मात्र नभई माया, सम्मान र मानवताको सुन्दर अभिव्यक्ति भएको बताइन्। उनले लायन्स अभियानको मूल मर्म अनुरूप समाजका आवश्यकतामा रहेका नागरिकसँग सहकार्य गर्दै यस्ता सेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने पनि उल्लेख गरिन्।

लायन्स क्लब अफ पोखरा समृद्धिले ‘सेवा नै धर्म हो, सेवा नै लायन्सको पहिचान हो’ भन्ने भावनासहित विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।













